Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ २९ गते ।

मधेस प्रदेशसहित देशभर दुई दिन चलेको जेन–जी आन्दोलनपछि प्रभावित जिल्लाहरुमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

सोमबार शान्तिपूर्ण आन्दोलन भए पनि मंगलबार विभिन्न सरकारी कार्यालय तथा मधेस सरकारका प्रशासनिक भवनमा तोडफोड र आगजनी भएपछि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा हटाउँदै स्थानीय प्रशासनले सेवा पुनः सुरु गरेका छन्।

धनुषा र सिरहा जिल्लामा आइतबारदेखि आंशिक रुपमा सेवा सुचारु गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आजदेखि जिल्ला प्रशासन कार्यालयको अधिकांश सेवा सञ्चालनमा आएको छ।

तर, आन्दोलनको क्रममा तोडफोड भएकाले राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा भने अनिश्चितकालका लागि बन्द गरिएको छ। सिरहामा भने नयाँ नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा असोज १ गतेदेखि मात्र सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

बारामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा हटाइएपछि सम्पूर्ण प्रशासनिक सेवा पुनः उपलब्ध भएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनाए।

रौतहटमा मंगलबार लगाइएको कर्फ्यू हटाइए पनि शनिबार बेलुकी ५ बजेदेखि अर्को सूचना नभएसम्म केही क्षेत्रमा निषेधाज्ञा कायम गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले बताए।

पर्सामा निषेधाज्ञा खुकुलो पारिएको छ। प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीका अनुसार वीरगञ्ज क्षेत्रमा बिहान ५ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा र राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले शनिबार बिहान ११ बजेदेखि जिल्लामा लगाइएको कर्फ्यू र निषेधाज्ञा फिर्ता लिइएको जानकारी दिएका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले शनिबार बिहान १० बजेदेखि जिल्लाभर निषेधाज्ञा हटाइएको जनाए भने सर्लाहीमा भने कर्फ्यू हटाइएर केही क्षेत्रमा मात्र निषेधाज्ञा कायम राखिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *