समाजिक फीड–
जनकपुरधाम, भदौ २७ गते ।
महोत्तरी जिल्लाभरी शनिबार बिहान ६ः३० बजेसम्म कर्फ्यू लागू रहने र त्यसपश्चात साँझ ७ बजेसम्म निषेधाज्ञा जारी हुने भएको छ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको मूल्याङ्कनपछि कर्फ्यू र निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालद्वारा जारी आदेशअनुसार सार्वजनिक सम्पत्ति तथा जनधनको सुरक्षाका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र ६ (ख) बमोजिम ‘दंगाग्रस्त क्षेत्र’ घोषणा गरी कर्फ्यू तथा निषेधाज्ञा लगाइएको हो।
शुक्रबार साँझ ७ बजेदेखि २८ भदौ शनिबार बिहान ६ः३० बजेसम्म महोत्तरी जिल्लाभर कर्फ्यू लागू हुनेछ। यस अवधिमा मानिसलाई आवतजावत गर्न, कुनै पनि भेला, जुलुस, सभा, प्रदर्शन वा समूह बनाएर हिँड्न निषेध गरिएको छ।
आज साँझ ५ बजेदेखि ७ बजेसम्म भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न अनुमति दिइएको प्रशासनले जनाएको छ।
२८ गते बिहान ६ः३० बजेदेखि साँझ ७ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी हुनेछ। निषेधाज्ञाका बेला पाँच जना भन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने, सभा, जुलुस, बैठक, प्रदर्शन, पोस्टर टाँस्न वा पर्चा वितरण गर्न निषेध गरिएको छ।
महोत्तरीमा जेन–जेड प्रदर्शन उग्र बनेपछि २४ भदौ साँझदेखि नै कर्फ्यू आदेश जारी गरिएको थियो। सोही आन्दोलनका क्रममा जलेश्वर कारागारबाट कैदीबन्दी समेत भागेका थिए।