समाजिक फीड-
जनकपुरधाम, भदौ २७ गते ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा शुक्रबार दिउँसो बैठक बस्ने भएको छ। सबै प्रावधान र प्रक्रियागत विषय टुंगिएमा शुक्रबार बेलुकासम्मै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराउने तयारी भएको स्रोतले जनाएको छ।
शुक्रबार बिहान ९ बजे सुरु हुने भनिएको छलफल दिउँसोका लागि सारिएको हो। बैठकले अझै बाँकी रहेका मुद्दाहरू टुंग्याउने बताइएको छ।
यसअघि बिहीबार दिनभर र रातभर राष्ट्रपति पौडेलको पहलमा शीतल निवासमा संवैधानिक विज्ञ, पूर्वप्रधानन्यायाधीश कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलबीच गहन छलफल भएको थियो। तर, जेनजी समूहले राखेको संसद् विघटनको मागमा भने सहमति जुट्न सकेन। संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न नसकिएको स्रोतले जनाएको छ।
यद्यपि, अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा प्रारम्भिक सहमति बनिसकेको छ।
उक्त छलफलमा जेनजी समूहको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए। अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन्। शाहले यसअघि नै कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको पक्षमा समर्थन जनाइसकेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार कांग्रेसका शीर्ष नेताहरूसँगै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि परामर्श गरेका थिए।
स्रोतका अनुसार, कांग्रेस नेताहरूले कार्कीको नेतृत्वमा सरकार गठन गर्न सकिने धारणा राखेका छन् भने प्रचण्डले पनि उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताइएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।