समाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।
महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ भागेका कैदीबन्दीहरू स्वस्फूर्त रूपमा कारागार फर्किन थालेका छन्।
आन्दोलनको परिस्थिती असमान्य भएपछि ५७६ जनामध्ये एक बाहेक सबै कैदी फरार भएका थिए।
तीमध्ये बुधबार दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रूपमा कारागार फर्किसकेको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी दिए।
कारागार प्रशासनले मंगलबार फरार कैदीलाई २४ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम जारी गरेको थियो। अन्यथा पक्राउ गरी ल्याइने चेतावनी पनि दिइएको थियो।
‘हालसम्म १९ जना फर्किएका छन्, फर्किने क्रम जारी छ। अल्टिमेटमको समय सकिएपछि नआएकाहरूलाई पक्राउ गरेर ल्याइनेछ’, सूचना अधिकारी ठाकुरले बताए।
कारागारबाट सामान्य अपराधदेखि जघन्य अपराधसम्मका कैदी फरार भएका छन्। धेरै कैदी भारततर्फ भागेर लुकेको हुनसक्ने अनुमान गरिएको छ।
जेन–जी आन्दोलनको क्रममा वातावरण असहज बन्दै गएपछि प्रहरी पनि सुरक्षामा असमर्थ देखिएको थियो।
आन्दोलनकारीले २०७२ सालको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणमा संलग्न ६ कैदीलाई रिहा गर्न दबाब दिएको र त्यसपछि अन्य कैदीहरूले समेत भाग्ने अवस्था सिर्जना भएको बताइएको छ।