समाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।
रौतहटको गौर कारागारबाट भागेका थप १७ जना कैदिबन्दी पक्राउ परेका छन ।
मंगलबार राति सामूहिक रूपमा भागिरहेका कैदीमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको हो ।
उनीहरु सबैजना भारतर्फ भाग्ने प्रयास गर्दै थिए । सीमावर्ती बैरगनिया प्रहरीले समन्वय गरेर उनीहरूलाई पुनः गौर कारागारमा ल्याइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद कुमार खड्काले जानकारी दिए ।
गौर कारागारबाट भागेका २९१ कैदीमध्ये ७९ जना पक्राउ परेका छन् भने २१२ जना अझै फरार रहेका छन्।
यसअघि बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट ३४ जना फरार कैदीलाई नियन्त्रणमा लिएको थियो।
सिडिओ खड्काले अझै फरार रहेका २१२ कैदीलाई तत्काल सम्पर्कमा आउन र आत्मसमर्पण गर्न आग्रह गरेका छन्।
मंगलबार दिनभर जेन–जी आन्दोलन उग्र बनेको थियो। आन्दोलनकारीहरूले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी भवनमा आगजनी गरेका थिए ।
सुरक्षाकर्मीहरू ती घटनामा व्यस्त रहेका बेला कैदीहरूले रातिको मौका पाएर कारागार भत्काई सामूहिक रूपमा फरार भएका थिए।