सामाजिक फीड, २४ भदौ २०८२।
युवाहरुको आन्दोलनले जनकपुर तनावग्रस्त बनेको छ । विभिन्न चोक चोकमा प्रदर्शन गरिरहेका उनीहरुले नेकपा एमालेका सचिव रघुविर महासेठको जनकपुरस्थित रहेको घरमा आगजानी समेत गरेका छन् ।
एमाले नेतृत्वको सरकारले काठमाडौंमा मच्चाएको नरसंहार र भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका युवाले उनको घरमा तोडफोड र आगजानी गरेका हुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित रहेको उनको घरमा युवाहरुले पहिले ढुंगामुढा गरेको र त्यसपछि आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
नेता महासेठको घरमा आगो निभाउन गएको दमकलमा समेत प्रदर्शनकारीले तोडफोड गरेका छन । महासेठकै घर अगाडी एउटा मोटरसाइकलमा समेत उनीहरुले आगजनी गरेका हुन । प्रदर्शन नियन्त्रणमा लिन गएका प्रहरीलाई समेत आन्दोलनकारीले लखेटेका छन ।
प्रदर्शन अनियपन्त्रित हुनसक्ने भन्दै जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।