Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २३ गते ।

धनुषामा अगामी असोज २ र ३ गते विभिन्न कार्यक्रमसहित नेपाल सर्प महोत्सव आयोजना हुने भएको छ। सर्प संरक्षणको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्स सोसाइटीको संयुक्त आयोजनामा मिथिला विहारी नगरपालिकामा नेपाल सर्प महोत्सव तेस्रो संस्करणको आयोजना हुन लागेको हो ।
‘मानव र सर्पबीच सह अस्तित्व प्रवर्द्धन’ भन्ने मूल नारासहित आयोजना हुने यो महोत्सवमा सर्पको वातावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्त्वबारे जनस्तरमा सचेतना फैलाइने जनकपुरधाममा पत्रकार सम्मेलन गरी आयोजकले जनाएका छन्।

नेपालका २६ जिल्लाबाट सहभागिता रहने महोत्सवमा सांस्कृतिक समूह प्रस्तुति, पोस्टर र फोटो प्रदर्शनी, सर्प समाजले गर्ने उद्धार र उपचारसम्बन्धी प्रदर्शन, कला प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन्। साथै सर्प पहिचान, संरक्षात्मक उपाय, विष उपचार र स्थानीय समुदायबीच सर्प संरक्षणबारे छलफलसमेत हुने जनाइएको छ।
‘नेपालमा हरेक वर्ष सर्पदंशका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन्। यसलाई नियन्त्रण गर्न जनस्तरमा सचेतना बढाउनुपर्छ भन्ने उद्देश्यले सर्प महोत्सव आयोजना गरिएको हो,’ महोत्सवका संयोजक कमल देवकोटाले भने ।
मिथिला वाइल्डलाइफ ट्रष्टका अध्यक्ष देव नारायण मण्डलले सर्प मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको प्राणी भएकाले यसलाई मार्नु भन्दा संरक्षण गर्नु नै सह अस्तित्वको बाटो रहेको उल्लेख गरे । नेपाल सर्प महोत्सवको पहिलो संस्करण २०८० सालमा धनुषाको विदेहीनगरपालिकामा सम्पन्न भएको थियो। दोस्रो संस्करण २०८१ सालमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा भएको थियो। यस पटकको तेस्रो संस्करण भने विभिन्न जिल्लाबाट सहभागिता जुटाएर असोज २ र ३ गते विशेष कार्यक्रमसहित मनाइनेछ।
सर्प संरक्षणलाई विज्ञानसंगत रूपमा बुझाउन र मानव–सर्प सहजीवन प्रवर्द्धन गर्न महोत्सवले टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *