सामाजिक फीड-
जनकपुरधाम, भदौ २२ गते ।
जेनजी पुस्ताले सामाजिक सञ्जालमा लगाईको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने भएको छ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा प्रदर्शन गर्न लागेका हुन्।सोमबार बिहान ११ बजे प्रदर्शन हुनेछ।
विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनिएको छ।
सामाजिक सञ्जाल टिकटकमा यसबारे ट्रेण्ड नै चलिरहेको छ।
प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।
ठूला भ्रष्टाचार, असमान सम्झौता, वंशवाद, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि आचोचना भइरहेको छ।
नेपाल सरकारले फेसबुक, युट्युब लगायत २६ वटा एप बन्द गरेकोमा टिकटक र भाइबर भने सञ्चालनमा छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।