सामाजिक फीड-
जनकपुरधाम, भदौ २२ गते ।
मधेश प्रदेशका विभिन्न ठाउँमा दिवंगत पुर्खाको आत्माको शान्ति र मोक्षको कामना गर्दै तर्पण गरिएको छ । भाद्र पूर्णिमाको अवसरमा आइतबार मिथिलाञ्चलका विभिन्न ठाउँमा दिवंगत पुर्खालाई सम्झेर तर्पण हो । जनकपुरधामको गंगासागर पोखरीमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो।
श्रद्धालुहरू काँक्रो, अक्षता र फूलमाला बोकेर आएका थिए। उनीहरूले पोखरीमा स्नान गरी आफ्नो कुल, गोत्र र पितृको नाम स्मरण गर्दै जल अर्पण गरे। चामल, तिल र काँक्रो चढाएर पुर्खालाई सम्झिने यस दिनलाई धार्मिक रूपमा विशेष मानिन्छ।
यस दिनको तर्पणले पुर्खाको आत्मा प्रशन्न हुने, परिवारमा सुख–शान्ति आउने र पितृ दोष नलाग्ने जनविश्वास छ । पण्डित राधाकान्त झाका अनुसार भाद्र पूर्णिमामा विशेषगरी अगस्त मुनिलाई तर्पण गर्ने परम्परा छ। अगस्त मुनिलाई पितृहरूको अग्रज मानिन्छ।
यस दिनपछि आश्विन कृष्ण पक्ष प्रतिपदादेखि १६ दिन लामो पितृ पक्ष (पार्वण पर्व) सुरु हुन्छ। आइतबार जनकपुरधाम मात्र नभई धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा लगायत जिल्लाका नदी, ताल र पोखरीमा पनि तर्पण गरिएको थियो।
महोत्तरीको बरुणसर पोखरी, सिरहाको कमला नदी, सप्तरीको कमलदह र बागमती किनारमा ठूलो संख्यामा श्रद्धालु भेला भएका थिए। गाउँघरमा पनि परिवारका सदस्यहरूले नजिकको पोखरी वा नदीमा स्नान गरेर सामूहिक पूजा गरेका थिए।
पण्डित मुकेश झाका अनुसार तर्पणसँगै दान–दक्षिणाको पनि शास्त्रमा ठूलो महत्त्व व्याख्या गरिएको छ । धेरै श्रद्धालुहरूले अन्न, फलफूल, दक्षिणा दान गर्छन भने भने कतिपय परिवारले गरिबलाई भोजन गराउने चलन छ । यसरी गरिएको दानले पनि पुर्खाको आत्मा खुसी हुने जनविश्वास छ ।
पितृ पक्ष अमावस्यासम्म चल्छ। यस अवधिमा दिवंगत पितृलाई सम्झेर तिथिअनुसार श्राद्ध, पिण्डदान र तर्पण गर्ने चलन छ। धर्मशास्त्रअनुसार पितृ पक्षलाई पुर्खाप्रतिको ऋण तिर्ने उत्तम अवसर मानिन्छ। श्राद्ध गर्ने परिवारमा सन्तान वृद्धि, सुख र समृद्धि हुन्छ भन्ने जनविश्वास छ।
जनकपुरको गंगासागर पोखरीलाई तर्पणका लागि पवित्र स्थल मानिन्छ। भनाइअनुसार त्रेतायुगमा भगवान राम, सीता र ऋषि–मुनिहरूले यही पोखरीमा स्नान गरी पुर्खालाई तर्पण गरेका थिए। त्यसैले यहाँ भाद्र पूर्णिमा र पितृ पक्षमा विशेष भीड लाग्छ।