Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते ।

जनकपुरधाम मधेश प्रदेशको साक्षरता दर हेर्दा यहाँको शैक्षिक अवस्था दयनीय रहेको देखिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदन अनुसार मधेश प्रदेशमा सबैभन्दा कम साक्षरता दर देखिएको हो ।

यहाँ ६३.५ प्रतिशत व्यक्ति मात्रै साक्षर छन । यो दर सातवटै प्रदेशमध्ये न्यून हो । साक्षरताका १२ वटा सूचक रहेका छन् । राष्ट्रभाषा वा मातृभाषाका वर्ण, अक्षर पढ्न र लेख्न सक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्याल्कुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अङ्क अक्षर लेख्न सक्ने साक्षरताका सूचक हुन।

त्यसैगरि १ देखि १०० सम्म गणना गर्न सक्ने, लेनदेनका हरहिसाब राख्न सक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने र बैङ्क भौचर भर्न र चेक प्रयोग गर्न सक्ने समेत सूचक अन्तर्गत पर्दछ। केन्द्रका अनुसार यी १२ वटा सूचीमध्ये ५० प्रतिशत जानेमा साक्षर भएको मानिन्छ ।

केन्द्रका निर्देशक दिनेश घिमिरेका अनुसार चेतनाको कमी र अशिक्षित वर्गको बढी संख्याका कारण मधेशमा साक्षरता दर न्यून देखिएको हो । ‘‘सबै निरक्षर भने होइनन्, साक्षरता बढाउन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्,’’ उनले बताए । हालसम्म देशका ६७ जिल्लाले आफूलाई साक्षर घोषणा गरिसके पनि मधेश प्रदेशका सबै ८ जिल्ला — सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा — अझै साक्षर घोषणा हुन सकेका छैनन् ।

यसले मधेशलाई राष्ट्रिय साक्षरता अभियानमा पछाडि परेको प्रष्ट देखाउँछ । मधेशमा विद्यालयको संख्या र विद्यार्थीको भर्ना दर उच्च भए पनि गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइमा चुनौती कायमै छ । देशभर ३५ हजारभन्दा बढी विद्यालय भए पनि मधेशका सामुदायिक विद्यालयहरूमा शिक्षण–अधिगम स्तर कमजोर भएको विज्ञहरूले औंल्याउँदै आएका छन् ।

यो वर्षको ५९औँ साक्षरता दिवसको नारा ‘डिजिटल युगमा साक्षरताको प्रबर्द्धन’ भए पनि मधेशमा डिजिटल पहुँच र उपयोग अझै कमजोर छ । मोबाइल, इन्टरनेट र कम्प्युटरको पहुँच सीमित भएकाले डिजिटल साक्षरता अभिवृद्धि चुनौतीपूर्ण बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *