सामाजिक फीड-
जनकपुरधाम, भदौ १७ गते
सिरहाको लहान नगरपालिका–१ स्थित मटियर्वामा आमा र उनका पाँच वर्षका जेठा छोरा मृत फेला परेका छन् । नौ महिनाको कान्छो छोरा भने सिकिस्त अवस्थामा भेटिएको र उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान–१२ स्थित भोटिया टोलमा बस्दै आएकी करिब २३ वर्षीया रंजिता चौधरी मंगलबार बिहान साढे १० बजे पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन्। उनका जेठा छोरा एरोन चौधरी भने खाटमुनि मृत भेटिएका थिए।
नौ महिनाका कान्छो छोरा जीवितै भेटिएपछि प्रहरीले तत्काल उद्धार गरी रामकुमार शारडा उमाप्रसाद मुरार प्रादेशिक अस्पताल पुर्याएको थियो। तर भेन्टिलेटर अभाव भएपछि उनलाई सप्तऋषि अस्पतालमा स्थानान्तरण गरी उपचार भइरहेको छ।
प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पाँच वर्षका एरोनको मृत्यु विषादी सेवनबाट भएको आशंका गरिएको छ।
वडाध्यक्ष युगलकिशोर चौधरीका अनुसार मृतक दम्पती प्रविण र रंजिता करिब एक वर्षदेखि डेरामा बस्दै आएका थिए। प्रविण स्थानीय प्लाइउड फ्याक्ट्रीमा काम गर्थे। केही दिनयता पति–पत्नीबीच लगातार झगडा हुँदै आएको र त्यसैको परिणामस्वरूप रंजिताले छोरालाई विषादी सेवन गराई आफैंले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।
लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले उनीहरूको स्थायी ठेगाना भोटिया टोल रहेको र रंजिताको माइती घर लहान–२२ माछा फारम नजिकै रहेको जानकारी दिए ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।