Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १७ गते

दशैं, तिहार र छठ पर्व लक्षित गरी सरकारले भदौ ३० गतेदेखि १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ४० बिक्री स्थलमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जनाइएको छ ।

कर्णालीका दुर्गम क्षेत्रमा सबैभन्दा बढी पसल सञ्चालन हुनेछ भने मधेस प्रदेशमा सबैभन्दा कम पसल सञ्चालन हुनेछ । सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसी–बोकासम्म छुटको व्यवस्था गरिएको छ ।

सुपथ मूल्य पसलले चाडपर्वका बेला उपभोक्ताको किनमेल केही हदसम्म भए पनि सस्तो बनाउन मद्दत पुग्ने देखिन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ । खाने तेल ९तोरी, सनफ्लावर, भटमास०, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने छ ।

कम्पनीले जिउँदो खसी, बोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा किलोको ७ रुपैयाँ छुट दिने जनाएको छ ।

कम्पनीको योजना अनुसार कर्णालीमा सबैभन्दा धेरै ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेर कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई राहत दिने तयारी छ ।
कर्णालीको सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, दैलेख, डोल्पा, रुकुम पश्चिम, कालीकोट र हुम्ला सदरमुकामदेखि विभिन्न विकट डिपो र बिक्री केन्द्रसम्म सहुलियत दरमा खाद्यान्न पुर्‍याइने छ ।

सुदूरपश्चिमका २८ स्थानमा लुम्बिनीका १५ स्थानमा कोशी प्रदेशमा ११ स्थानबाट सहुलियत दरमा खाद्यान्न बिक्री वितरण गर्ने छ ।

गण्डकीको ७ स्थानमा बागमती प्रदेशमा ५ स्थानमा र मधेसमा तीन स्थानमा सञ्चालन हुनेछ । मधेसका उपभोक्ताका लागि सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *