Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १७ गते

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सरकारको नेतृत्व गर्ने पालो अब आफ्नो पार्टीको रहेको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा लोसपाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेशी दलहरूले साढे सात वर्षदेखि मधेशको नेतृत्व गरिसकेको स्मरण गराउँदै अब नेतृत्व गर्ने जिम्मेवारी लोसपाको भएको स्पष्ट पारे ।

उनले केन्द्रमा सत्तारूढ गठबन्धनभित्र सात प्रदेशको नेतृत्व बाँडफाँटको सहमति अनुसार तीन–तीन प्रदेश कांग्रेस र एमालेले नेतृत्व गर्ने र मधेश प्रदेश मधेशी दललाई दिने सहमति भएको जानकारी दिए । सोही अनुसार अब मधेशी दलभित्र पनि नेतृत्वको पालो लोसपाको भएको उनको तर्क थियो।

“मधेश प्रदेशमा कांग्रेस–एमाले मिलेर मात्रै सरकार बनाउन सक्ने स्थिति छैन। मधेशी दलहरूको साथ आवश्यक पर्छ। मधेशी दलहरूले पहिल्यै नेतृत्व गरिसकेकाले अबको पालो हाम्रो हो,” अध्यक्ष ठाकुरले भने । हालै सरकार परिवर्तनको तत्काल सम्भावना नभएको उल्लेख गर्दै उनले रुपन्देही उपनिर्वाचनपछि परिस्थितिमा परिवर्तन आउन सक्ने संकेत गरे ।

अध्यक्ष ठाकुरले केन्द्रमा गठबन्धनको बहुमत रहेको सरकार २०८४ सम्म टिक्ने दाबी गर्दै लोसपा सरकारमा रहेरै जनताको पक्षमा काम गर्ने र शान्तिपूर्ण आन्दोलन समेत जारी राख्ने स्पष्ट पारे । मधेशमा फैलिएको खडेरी र खानेपानीको समस्याबारे सरकारले चासो नदिएकोप्रति असन्तुष्टि जनाउँदै उनले आफूले संसद् र सरकार दुबैमा आवाज उठाइरहेको बताए ।

प्रधानमन्त्रीसँगै सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरिसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले घोषणा गरेको ५०० डिप बोरिङ अझै नपुगेको प्रति असन्तोष व्यक्त गरे । अध्यक्ष ठाकुर बुधबार राजविराजमा आयोजना हुने संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

उनले विगतको आन्दोलनबाट मधेशले पहिचान पाएको भए पनि अधिकार अझै नपाएको भन्दै मोर्चा बनाएर पुनः जनतामाझ जाने अभियान सुरु गरिएको जानकारी दिए । जनसंख्याका आधारमा बजेट वितरण हुनुपर्नेमा जोड दिँदै उनले मधेशबाट केन्द्रमा जाने राजस्वको कम्तीमा ३५ प्रतिशत मधेशमै आउनुपर्ने माग राखे । “तर हालसम्म २० प्रतिशत पनि आएको छैन,” अध्यक्ष ठाकुरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *