सामाजिक फीड-
जनकपुरधाम, भदौ १६ गते
साउदी अरबमा काम गरिरहेका महोत्तरीका दुईजनालाई हत्या गरेको कसुरमा एकजना नेपालीलाई मृत्युदण्ड दिइएको छ । कास्की जिल्लाका ४५ वर्षीय पुष्पराज रानाभाटलाई फाँसी चढाइएको हो । दमामस्थित जेल प्रशासनले तीनै तहको अदालतको फैसलाअनुसार गत जेठ १९ गते सोमबार बिहान उनलाई मृत्युदण्ड दिएको हो। यो घटनाले साउदीमा नेपालीमाथि कार्यान्वयन भएको मृत्युदण्ड पहिलोपटक नभएको पुष्टि गरेको छ।
२०८० असोज २ गते रानाभाटले एउटै कोठामा बस्ने महोत्तरीका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको हत्या गरेका थिए। यस घटनामा तल्लो अदालतको मृत्युदण्डको फैसलालाई उच्च र सर्वोच्च अदालतले समेत सदर गरेका थिए।
तर, उनले कसरी हत्या गरे वा घटनाको विस्तृत पृष्ठभूमि के थियो भन्नेबारे अझै सार्वजनिक भएको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले आपसी विवादका कारण घटना भएको बताएका भए पनि अन्य विवरण खुलाउन चाहेनन्।
साउदीको कानुनअनुसार मृत्युदण्डको सजाय पाएपछि पीडित परिवारले ‘ब्लडमनि’ लिएर माफी दिन सक्ने व्यवस्था छ। तर, यस प्रकरणमा पीडित पक्ष र दोषीबीच कुनै औपचारिक समझदारी भएन । घटनामा संलग्न तीनै जना साधारण श्रमिक रहेका थिए।
साउदी अरबमा मृत्युदण्डको फैसला कार्यान्वयन गर्नुअघि दोषी व्यक्तिसँग अन्तिम इच्छा सोध्ने प्रचलन छ। त्यही क्रममा, मृत्युदण्ड पाउनुअघि रानाभाटले पोखरामा रहेको आफ्नो सम्पत्ति श्रीमती र छोरालाई दिन चाहेको इच्छा व्यक्त गरेका थिए। यो इच्छा साउदी सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई पठाएको पत्रमा उल्लेख गरिएको छ। तर, साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकालका अनुसार मृत्युदण्ड कार्यान्वयन भइसकेपछि मात्रै दूतावासले यसबारे औपचारिक जानकारी पाएको हो।
साउदी कानुनअनुसार मृत्युदण्ड पाएकाको शव परिवारलाई उपलब्ध गराउने व्यवस्था छैन। यसअघि २०७९ साल कार्तिक ६ गते, १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिइएको थियो। दाहालले सन् २००७ फेब्रुअरी २ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए भने त्यस घटनामा गम्भीर घाइते भएका एक सुडानी नागरिकको दुवै आँखामा स्थायी क्षति भएको थियो। मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमै गाडिएको थियो।
त्यसैगरी, २०८० साल जेठ दोस्रो साता पर्वत जिल्ला, मोदी गाउँपालिका–४ खुइजेरीका सन्तबहादुर पुनलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो। पुनमाथि साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या गरेको अभियोग लागेको थियो। उनले २२ वर्षदेखि कुरैयात जेलमा जीवन बिताइरहेका थिए।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।