सामाजिक फीड-
जनकपुरधाम, भदौ १६ गते
सर्वोच्च अदालतको आदेशपछि १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान प्रहरीले अगाडि बढाएको छ । २०६३ साल चैत ७ गते दुई राजनीतिक शक्तिबीच भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो।
घटनासम्बन्धी किटानी जाहेरीमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनालाई आरोपित बनाइएको छ। सर्वोच्च अदालतको परमादेशपछि ती सबैमाथि अनुसन्धान अघि बढाइएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।
डीआईजी चतुर्वेदीले अनुसन्धान प्रक्रियाअन्तर्गत १ सय ३० जना आरोपितको तीन पुस्ते विवरण संकलन भइरहेको बताए । चर्तुवेदीले प्रारम्भिक सूचनाअनुसार ११ जनाको मृत्यु भएको देखिएकाले प्रमाणपत्रका आधारमा पुष्टि गर्ने काम गर्ने बताए ।
मृतक ठहरिएकाको भूमिकाबारे पनि अनुसन्धान भइरहेको उनले बताए ।
पीडित पक्षका चार जनाले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिट निवेदनमा प्रहरीलाई जाहेरी अघि बढाउन परमादेश दिन माग गरेका थिए। सोही मागलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले भदौ २ गते आदेश दिएको हो।
पीडितहरूले प्रहरीद्वारा अनुसन्धान नहुने अवस्थाले आफ्नो संवैधानिक हक हनन भएको भन्दै अदालत धाएका थिए। यसअघि २०६८ साल चैत २८ गते जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी दर्ता भएको थियो।
गौरको राइस मिलमा १९ वर्षअघि मधेसी जनअधिकार फोरम (यादव नेतृत्व) र नेकपा माओवादी (दाहाल नेतृत्व) बीच आमसभा गर्ने विषयमा विवाद हुँदा हिंसात्मक झडप भएको थियो। सो घटनामा ५ महिलासहित २७ जनाको निर्मम हत्या र सयभन्दा बढी घाइते भएका थिए।