सामाजिक फीड-
जनकपुरधाम, भदौ १६ गते
अफगानिस्तानमा आइतबार राति गएको ६.३ रिक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक रिपोर्टअनुसार कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ।
भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिकै गएको थियो। एनबीसी न्यूजले २५० जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ। यता, न्यूयोर्क टाइम्स ले सयभन्दा बढीको मृत्यु भएको उल्लेख गर्दै मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट १६० किलोमिटर गहिराइमा थियो। यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो।
पहिलो मुख्य झटपछिपनि परकम्पहरू जारी छन्। ती परकम्पहरूको तीव्रता क्रमशः ४.७, ४.३ र ५.० मापन गरिएको छ।
यसअघि, २०२३ को अक्टोबर ७ मा अफगानिस्तानमा गएको अर्को विनाशकारी भूकम्पमा करिब ४ हजार मानिसले ज्यान गुमाएका थिए, यद्यपि संयुक्त राष्ट्रसंघले १,५०० को मृत्यु पुष्टि गरेको थियो।
भूकम्पको केन्द्र राजधानी काबुलबाट सडकमार्ग हुँदै १०० माइलभन्दा कम दूरीमा पर्ने जलालाबाद नजिकै रहेको थियो। अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै भूकम्पले पूर्वी प्रान्तहरूमा व्यापक जनधनको क्षति पुर्याएको बताएका छन्। तर अहिलेसम्म उनले विस्तृत मानवीय क्षतिको विवरण सार्वजनिक गरेका छैनन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।