फाएजा फहमिदा
जनकपुरधाम, भदौ १५ गते
मधेस सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल बजेटको मात्र ०.०३ प्रतिशत खर्च गरेको छ।
यस आर्थिक वर्षका लागि सरकारले पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रुपैयाँ र चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ विनियोजन गरी कूल ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट व्यवस्था गरेको थियो। तर, प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा जम्मा १ करोड ३५ लाख ९६ हजार ९८०.६९ रुपैयाँ मात्रै खर्च भएको छ।
यस अवधिमा पूँजीगततर्फ भने एक रुपैयाँ पनि खर्च हुन सकेको छैन। एक महिनामा सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय शिक्षा तथा संस्कृति मन्त्रालय रहेको छ। यस मन्त्रालयले साउनमा चालुतर्फ ५३ लाख ४६ हजार ३०४.४० रुपैयाँ खर्च गरेको छ।
त्यसपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८ लाख १३ हजार १२२.१६, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४ लाख ६० हजार ४६७.८०, अर्थ मन्त्रालयले १८ लाख १३ हजार १२२.१६ र प्रदेश लोकसेवा आयोगले ११ लाख ३८ हजार ४९७ रुपैयाँ खर्च गरेको तथ्यांक प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको छ।