सामाजिक फीड-
जनकपुरधाम, भदौ १५ गते ।
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् ।
आज बिहानदेखि मिथिला क्षेत्रका गाउँगाउँमा बर्तालु महिलाहरूले घरघरमा ठेकुवा पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् ।
आज बर्तालु महिलाहरू फलफूल, मिठाइ र पकवानसहितका पूजा सामग्रीसहित नजिकैको पोखरी, तलाउ वा नदीमा गई सूर्यदेवतालाई अर्घ्य चढाउँदै पर्व मनाउने जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए ।
भदौमा मनाइने भएकाले यसलाई भदैया रैब पर्व पनि भनिन्छ । रैब सूर्य देवताकै पूजा उपासना गरी मनाइने पर्व हो । पोखरी, तलाउ वा नदीमा स्नान गरी, सूर्य देवतालाई पूजा सामग्रीको अर्घ्य दिएर बर्तालुहरू आ–आफ्ना घरमा जान्छन् भने घर पुगेर आँगन वा पिँढीमा फेरि नेउज हाल्ने गर्दछन् ।
नेउज हाल्ने क्रममा बर्तालुहरू भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाइएको खिर र केरा चढाउने गर्दछन् । यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुई वटा नेउज हाल्ने गर्नुपर्छ ।
नेउज हालिसकेपछि ९प्रसाद चढाइसकेपछि० बर्तालुहरूले फलफूल ग्रहण गर्न सक्छन् । आज राति उनीहरूले नुनबिनाको खानेकुरा ९फलफूल, खिर, केरा, स्याउ० लगायत वस्तु नै खाएर बस्ने चलन छ ।
त्यसैगरी अब आजैदेखि मिथिलाञ्चलका प्रत्येक गाउँ ठाउँका प्रायः जसो महिलाले प्रत्येक आइतबार रैब पर्वका लागि दिनभरि उपवास बस्ने र बेलुका नुनबिनाको खानेकुरा खाएर छ महिनासम्म रैब पर्व मनाउनेछन् ।
परम्परागत रूपमै यो पर्व सुख, समृद्धि र विशेष गरी आरोग्यताका लागि मनाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउँछन् ।