सामाजिक फीड-
जनकपुरधाम, भदौ १२ गते ।
नेपाल सरकारले युवाको उमेर सीमा संशोधन गर्दै अब १८ वर्षदेखि ३५ वर्षसम्म कायम गर्ने निर्णय गरेको छ। हालै स्वीकृत गरिएको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नयाँ उमेर सीमा लागू हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्।
यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा युवाको उमेर सीमा १६ वर्षदेखि ४० वर्षसम्म तोकिएको थियो। तर, नयाँ नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखी नेपालको सन्दर्भअनुसार १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिने’ उल्लेख गरिएको छ।
२०७८ सालको जनगणना अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत रहेको थियो। बस्नेतका अनुसार अब नयाँ नीतिअनुसारको युवाको जनसंख्या विवरण निकाल्न परिषद्का तर्फबाट सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
उनका अनुसार बालबालिकासम्बन्धी ऐनले १८ वर्षसम्मको उमेरलाई बालबालिका मानेकोले, त्यसपछिको १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा समूहमा राखिएको हो।
हाल संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ। यद्यपि नेपालमा कानुनी रुपमा भने ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म १६ देखि ४० वर्ष उमेर समूह नै युवा मानिने छ। उपाध्यक्ष बस्नेतका अनुसार, नयाँ नीतिलाई कार्यान्वयन गर्न अब ऐन पनि संशोधन गर्नुपर्ने आवश्यकता छ।
प्रत्येक पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने प्रावधान भए पनि यसपटक १० वर्षपछि मात्रै नीति संशोधन गरिएको हो।