Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, भदौ १२ गते ।

जनकपुरधामका सडकहरूमा अनियन्त्रित रूपमा बढ्दै गएका ई–रिक्साले ट्राफिक जाम मात्र होइन, दुर्घटनाको खतरा पनि दिनानुदिन बढाइरहेको छ।

बिना दर्ता, बिना लाइसेन्स र चालकको मनपरी कारण सहर अस्तव्यस्त हुँदै गएको स्थानीयवासीको गुनासो छ।

विशेषगरी जानकी चोक, जनक चोक, शिव चोक, विश्वकर्मा चोक, सीता चोक, मुरली चोक, पिडारी चोक र बसपार्क क्षेत्रमा दिनहुँजसो जाम हुन्छ। स्थानीयहरू भन्छन्— “रिक्सा चालकले ट्राफिक नियम बेवास्ता गर्दा हिँड्नै मुस्किल हुने अवस्था आएको छ।”
जनकपुरमा कैयौँ ई–रिक्सा दर्ता र नवीकरणविना सडकमा चलिरहेका छन्। चालक अनुमति पत्र (लाइसेन्स) नभएका चालकले समेत सहजै सवारी चलाइरहेका छन्।

उदाहरणका लागि, जनकपुरधाम–३ का ५७ वर्षीय श्रवण ठाकुर आठ वर्षदेखि ई–रिक्सा चलाइरहेका छन्। उनी भन्छन्, “अक्षर र चिह्न चिन्ने नसकेर लिखित परीक्षा पास गर्न सकिनँ। एक पटक परीक्षा दिए, फेल भएपछि फेरि दिइनँ।”
अव्यवस्थित सञ्चालनकै कारण पछिल्लो समय दुर्घटनामा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाउँछ।

गत असार १५ गते बाह्रविघानजिक ६५ वर्षीय चालक रामसोगारथ राउतले चलाएको ई–रिक्साले ठक्कर दिँदा सिरहाकी ७० वर्षीया पवनदेवी घाइते भइन्। उनको उपचारमा डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर राउतसँग न उपचार खर्च तिर्न सक्ने क्षमता छ न बीमाको सुविधा।

सहायक निरीक्षक (सई) चन्देश्वर यादवका अनुसार जनकपुरधाममा हरेक दिनजसो ई–रिक्सासँग सम्बन्धित दुर्घटनाको छलफल हुन्छ। “महिनामा २५–३० वटा यस्ता छलफल हुन्छन्,” उनले भने।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १३० र २०८१/८२ मा १२८ वटा ई–रिक्सा दुर्घटना नोंद भएका छन्। “यो पूर्ण विवरण होइन, हाम्रो जानकारीमा आएका मात्रै हुन्,” उनले स्पष्ट पारे।
प्रहरी अधिकारीहरू भन्छन्, अधिकांश चालक अनपढ भएकाले सामान्य ट्राफिक नियमसमेत पालना गर्दैनन्। “सबै निकायले समन्वय नगरे ई–रिक्सा आतंक अझ भयावह बन्छ,” निरीक्षक शाहीले चेतावनी दिए।

जनकपुरधाम उपमहानगरपालिकाले २०७९ सालमै दर्ता, नवीकरण र नियमनसम्बन्धी निर्देशिका तयार पारे पनि कार्यान्वयन भने कमजोर भएको स्थानीयहरूको आरोप छ।

उपमहानगरपालिकाका कर प्रमुख परमेश झाका अनुसार हालसम्म १,४०० भन्दा बढी ई–रिक्सा दर्ता भए पनि नियमित नवीकरण हुने संख्या ९५० मात्रै छ। बाँकी दर्ताविहीन वा नवीकरण रोकिएका रिक्सा अझै सडकमा दौडिरहेका छन्।
“यस महिनाभित्रै सूचना बोर्ड टाँस्ने, थप दर्ताको पहल गर्ने र नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्ने तयारी भइरहेको छ,” झाले बताए।
ट्राफिक प्रहरी र स्थानीयवासी दुवै पक्षको निष्कर्ष एउटै छ— ई–रिक्सा व्यवस्थापनबिना जनकपुरमा दुर्घटना र जाम नियन्त्रण असम्भव छ। प्रहरी निरीक्षक शाही भन्छन्, “अस्पताल रोडमा एम्बुलेन्सलाई समेत जाम नहुने गरी व्यवस्थापन गरेका छौँ। तर दीर्घकालीन योजना सबै तहबाट नबनाएसम्म समस्या जटिल हुँदै जान्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *