जनकपुरधाम भदौ ११ गते ।
मधेस प्रदेशसभाको छैटौँ अधिवेशन बिहीबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ। मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गतेका लागि बैठक आह्वान गरेकी हुन्।
प्रदेशसभा सचिवालयले अधिवेशन सुरु गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको र सांसदहरुलाई जानकारी गराइसकिएको जनाएको छ। तर, नयाँ अधिवेशन सुरु भए पनि प्रतिपक्षी दलले विगतमा जस्तै अवरोधलाई निरन्तरता दिने अडान लिएको छ।
उनीहरूले अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभालाई ढाट्दै फरक–फरक बजेट पुस्तिका वितरण गरेको भन्दै उनको राजीनामा माग गर्दै आएका छन्। जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले सरकारले माग सम्बोधनमा कुनै पहल नगरेको र अर्थमन्त्रीले राजीनामा नदिएसम्म प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्ने बताए ।
यादवले अर्थमन्त्रीले बजेट प्रक्रियामा पारदर्शिता नदेखाई छुट्टाछुट्टै रेडबुक वितरण गरेर प्रदेशसभाको गरिमा घटाएको र त्यसबारे छानबिनका लागि बनेको कार्यदललाई समेत बेवास्ता गरेको आरोप लगाए। नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेलले बिहीबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।
तर, विगतमा जस्तै यस पटक पनि सहमति जुट्ने सम्भावना न्यून रहेको उनको भनाइ छ। उनले प्रतिपक्षी दल भ्रष्टाचारको संरक्षण गर्ने पक्षमा नरहेको र अर्थमन्त्रीको राजीनामा अनिवार्य अडानमा रहेको स्पष्ट पारे। बुधबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बिहीबारको कार्यसूची तय गरेको छ।
अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा विषयगत समितिहरूका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।