Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
सिरहा, साउन २८ गते

सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको आफ्नै घरभित्र हत्या चोरले गरेको खुलेको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डल रहेका छन्। सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार, साउन १५ गते बिहान करिब ६:२० बजे सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरी यादवलाई गम्भीर घाइते बनाइएको थियो । उपचारका क्रममा बिहान ८:२० बजे प्रादेशिक अस्पताल लहानमा उनको मृत्यु भएको थियो ।

नजिकैको घरको सिसीटिभी फुटेजको आधारमा प्रहरीले दुवै आरोपितको पहिचान गरेको थियो । महेशलाई साउन २७ गते आफ्नै घरबाट पक्राउ गरिएको हो, भने प्रशान्तलाई यसअघि नै साउन २३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, साउन १४ गते राति महेश र प्रशान्त चोरी गर्ने योजना बनाएर मृतकको घरमा पसेका थिए। ढोका खुला रहेको देखेर भित्र छिरेका उनीहरूलाई देखेपछि यादवले हो-हल्ला गरेका थिए। त्यसपछि महेशले साथमा ल्याएको खुकुरीले यादवको टाउकोमा प्रहार गरी दुवै जना फरार भएका थिए।
घटनामा प्रयोग गरिएको खुकुरी महेशको काकाको भएको र घटना पछि काकाको घरमा लुकाइएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
सिरहा जिल्ला अदालतबाट साउन २८ गतेदेखि सात दिनको म्याद थप अनुमति लिएर दुवै जनामाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *