सामाजिक फीड-
जनकपुरधाम, साउन १९ गते l
रौतहटको ईशनाथ नगरपालिका-८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट सिँचाइ गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारको क्रममा ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आइतवार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भइरहेको तारको सम्पर्कमा आएका थिए। घटनापछि गम्भीर घाइते अवस्थामा उनलाई गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल रामपुरखाप चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्छ। मृतकको शव हाल गौर अस्पतालमै पोष्टमार्टमका लागि राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गत आर्थिक वर्षमा मात्रै करेन्ट लागेर २३ जनाको मृत्यु भएको थियो। यो आर्थिक वर्षको साउन महिनासम्म आइपुग्दा मृतकको संख्या २८ पुगेको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।