Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १३ गते l

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत सिँचाइ, जलविद्युत् उत्पादन र प्रसारण लाइनको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा उपलब्ध गराउने योजनाको उद्घाटन गर्नुका साथै ४ दशमलव ७१ मेगावाट क्षमताको जलविद्युत् परियोजना र ३३ केभी प्रसारण लाइनको पनि शुभारम्भ गरेका हुन्।

उक्त आयोजना अन्तर्गत जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरमार्फत विद्युत् उत्पादन गरी ३३ केभी प्रसारण लाइनमा जोडिएको छ।
यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको रूपमा चिनिएको हो।
हाल आयोजनाको दोस्रो चरण सम्पन्न भइसकेको र अब तेस्रो चरणको काम प्रारम्भ भएको जनाइएको छ।

पहिलो र दोस्रो चरणमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिका समेटिएकोमा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकाहरूमा सिँचाइ विस्तार हुने जानकारी दिइएको छ।
यसले ती क्षेत्रमा कृषि उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीले रानी जमरा आयोजना नेपालको जलस्रोत व्यवस्थापन, ग्रामीण कृषि विकास, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षामा ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
उनले १२० वर्षअघिको किसानहरूको सामूहिक प्रयासबाट सुरु भएको प्रणालीलाई आज आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वय नै सफलताको आधार भएको स्मरण गरे।

यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *