सामाजिक फीड
जनकपुरधाम, साउन ११ गते।
जनकपुरधाममा पानीको अभाव र किसानका समस्यालाई लिएर जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघले प्रदर्शन गरेको छ। जनक चोकबाट सुरु भएको जुलुसले प्लेकार्डसहित नाराबाजी गर्दै मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा “भ्रष्ट सरकार पानी दे”, “राहत प्याकेज घोषणा गर”, “किसान मार्न पाइदैन”, “किसान विरोधी सरकार होसियार”, “चुरे दोहन बन्द गर”, “सरकार मुर्दावाद” लगायतका नारा लगाइएको थियो।
प्रदर्शनपछि युवा संघले धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यमार्फत संघीय सरकारलाई चार बुँदे ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा भूमि सम्बन्धी प्रस्तावित विधेयक खारेज वा संशोधन गर्न, मल र बीउको आपूर्ति सुनिश्चित गर्न, दीर्घकालीन पानी व्यवस्थापन योजना ल्याउन तथा कृषकहितमा प्रभावकारी नीति ल्याउन माग गरिएको छ।
त्यस्तै, मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाइएको आठ बुँदे ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्न, मल–खाद्यको आपूर्ति सुनिश्चित गर्न, चालु आर्थिक वर्षको बजेटमा बनेका दुई रेडबुकको छानबिन गर्नुपर्ने लगायतका मागहरू राखिएको छ।