सामाजिक फीड-
जनकपुरधाम, साउन ९ गते।
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित एक पशुपालन फर्ममा सशस्त्र प्रहरी बल, नेपाल र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले छापा मार्दै १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध कपडा र चुरोट बरामद गरेको छ।
गए राति ८:०५ बजे तुलसी पशुपालन फर्ममा गरिएको उक्त अपरेसनमा ३१ पोका अवैध कपडा र ७० कार्टुन प्लाटिनियम ब्रान्डको चुरोट फेला परेको हो। संयुक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीका प्रमुख एसपी देव बहादुर चन्द नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र भन्सार अधिकृत कमल बहादुर खड्काको टोलीका ५ जना कर्मचारी सहभागी थिए।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालले यो अपरेसनलाई तस्करी नियन्त्रणको अभियान अन्तर्गत अहिलेसम्मकै ठूलो सफलता भनेका छन्। पदभार सम्हालेदेखि हालसम्म उनले प्रदेश २ भित्र १७ वटा अपरेसनमार्फत १७ करोड १२ लाखभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको बताए।
साथै, प्रवक्ता एसएसपी सुरजसेन ओलीका अनुसार दुई महिनाको अवधिमा मात्रै १,२८० किलो गाँजा, ८२,९६६ थान नशालु क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड पनि बरामद गरिएको छ। सशस्त्र प्रहरीले निगरानी र सुराकी प्रणालीको सशक्त प्रयोग गरी तस्करी नियन्त्रणमा तीव्रता दिएको बताइएको छ।
बरामद सामग्रीलाई मलंगवा भन्सारमा बुझाइएको छ भने तस्करीमा संलग्न व्यक्तिको खोजी जारी रहेको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय, बर्दिवासले जनाएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।