सामाजिक फीड
जनकपुरधाम, साउन ८ गते
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्दै आएका दुई दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल रहेका छन्। उनीहरू स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्दै आएका थिए।
आज बिहान घरको ‘प्यासेज’मा एउटै डोरीको सहायताले झुन्डिएको अवस्थामा उनीहरूलाई फेला पारिएको प्रहरी वृत्त थिमिका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानाले जानकारी दिए।
घरधनीका अनुसार ती किशोरीहरू करिब दुई साताअघि मात्र सो घरमा डेरा सरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार ती किशोरीहरू घरबाट भागेर आएका थिए भन्ने खुल्न आएको प्रहरीले जनाएको छ।
हालसम्म मृतकको परिवार सम्पर्कमा नआएकाले शव परीक्षण तथा घटनास्थलको विधिवत मुचुल्का पछि मात्र विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।