Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, असार ३१ गते-

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका अब पूर्ण रूपमा सञ्चालनमा ल्याइने स्पष्ट संकेत दिएका छन्। भौतिक पूर्वाधार निर्माण र वैकल्पिक मार्गको विकासमार्फत कोराला नाकालाई व्यापारिक तथा पर्यटकीय केन्द्रका रूपमा विकसित गर्ने सरकारको योजना रहेको ओलीको भनाइ छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा ओलीले यस्तो धारणा राखेका हुन्। उनले कोराला नाका सञ्चालनसँगै मुस्ताङको समग्र आर्थिक तथा पर्यटन प्रवर्धनमा नयाँ आयाम थपिने दाबी गरे।

असार २४ गतेको आकस्मिक बाढीले रसुवाको भोटेकोशी नदीको मितेरी पुल बगाएपछि प्रधानमन्त्रीले तत्काल स्थलगत अवलोकन गरी वैकल्पिक नाका र मार्ग खोल्न मन्त्रालयहरूलाई निर्देशनसमेत दिइसकेका छन्। ओलीले मुक्तिनाथ क्षेत्रको विकास, च्याङ्ग्रापालन, स्याउ सुपर जोन, र केवलकार सञ्चालनलगायतका पूर्वाधारलाई समेत उच्च प्राथमिकतामा राखिएको स्मरण गरे।

छलफलमा सहभागी प्रतिनिधिमण्डलले कोराला नाका सञ्चालनमा ढिलाइ, निषेधित क्षेत्रको कारण विदेशी पर्यटक घट्दो र त्यसको असर स्थानीय व्यवसायमा परेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। उनीहरूले प्रति विदेशी पर्यटक $५०० शुल्क हटाउन समेत माग गरे।

कालिगण्डकी करिडोरको कागबेनी–कोराला सडक खण्ड कालोपत्र गर्ने कार्य अलपत्र परेको र पुल निर्माणका ठेक्काहरु तोडिएकोप्रति पनि चिन्ता व्यक्त गरिएको थियो।

छलफलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायतको सहभागिता थियो। प्रधानमन्त्री ओलीले सो सबै माग र सुझावलाई गम्भीरतापूर्वक लिएर सरकार स्तरमा छिट्टै निर्णय हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *