सामाजिक फीड-
जनकपुरधाक, असार ३० गते ।
मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरुले बजेट बहुमतले पारित गरेका हुन्।
फास्टट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को विनियोजन विधेयक पारित भएको हो । बजेटको सरकारले सांसदलाई उपलब्ध गराएको र अर्थमन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको छ । आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले आज बिहान कार्यदल र बैठक समेत बहिष्कार गरी निस्केका थिए। विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार हुने समेत बताएका थिए ।
त्यसपछि सत्ता दलका सांसदहरूको उपस्थितिमा चलेको सदनले संशोधन प्रस्तावको समय दिएपनि कसैले दर्ता गराएनन् ।
गत असार १ गते अर्थमन्त्री सुनिल यादवले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गरेका थिए ।
सदनमा बजेट बारेको छलफलमा कतिपय सत्ताघटक सांसदहरू नै त्रुटिपूर्ण रहेको गुनासो गरेका थिए ।
लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले बजेटको २९४ पाना गायब गरेर समर्थनको आधारमा सबै सांसदलाई गुलाम बनाएको टिप्पणी गरेका थिए ।
यस्तै काँग्रेसका सांसद विरेन्द्र सिंहले विगतमा ५० लाख भन्दा कमको बजेट नल्याउने बाचा गरेको सरकार र सांसद ५ लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने बनाएको बताएका थिए ।
मुख्यमन्त्री सतिशकुमार सिंहले विगतमा पनि जिरो जिरो भए तथ कम रकम भएका योजना रेडबुकमा नल्याएको अभ्यास रहेको तर्क गरे ।
‘पीएलएमआईबीएसमा योजना इन्ट्री गर्दा र हटाउँदा कम शून्य र कम बजेट भएका योजना विगतमामा रेडबुकमा ल्याइँदैन । यसपटक पनि त्यही भएको हो’ उनले भने ।