Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २८ गते ।

मधेश प्रदेशसभा बैठक शनिबार पनि स्थगित भएको छ। विपक्षी दलको अवरोधका कारण छैटौं दिनसम्म बैठक अघि बढ्न सकेन।

बैठक सुरु भएपछि माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएका त्रुटि सच्याउन गठित कार्यदलप्रति असहमति जनाउँदै विरोध गरे।

उनका अनुसार, मुख्यमन्त्री सतीशकुमार सिंहले दिएको प्रतिबद्धताअनुसार कार्यदल गठन नभएको र त्यसमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम समेटिएकोले विवाद चर्किएको हो। विपक्षी दलहरूले मन्त्रीको नाम हटाइएनसम्म बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका छन्।

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम समावेश हुनु र अल्पमतको अवस्थामा कार्यदल गठन हुनु नयाँ अभ्यास भएको बताए। कार्यदलको म्याद पनि नरहेको भन्दै उनले संयोजक पदबाट राजीनामा दिए।

सभामुखले राजस्व तथा आय–व्ययमाथि छलफल नगरी सिधै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिएका थिए। उनले आर्थिक विधेयक पारित गर्न र विनियोजन विधेयकमा आपत्ति भए त्यसमा मात्र विरोध जनाउन आग्रह गरे। तर, विपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गर्दै विरोध जारी राखे। त्यसपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरे।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादी सांसद जवाहरलाल कुशवाहा, नेकपा (एस) का प्रमुख सचेतक कनिष पटेल, एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका नेता कृष्ण यादव रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *