Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २६ गते ।

मधेशमा बजेटमा बिचौलियाको प्रवेश र संशोधन बारे गठन भएको कार्यदलमा मन्त्रीलाई नै राखेपछि बैठक विना निष्कर्श सकिएको छ ।

बजेटमा भएको त्रुटि छानविन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्य कार्यदल गठन गरेको थियो । आज सदनमा सभामुख मण्डलले सदनलाई जानकारी दिएका थिए ।

तर त्यसमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई समेत राखेपछि प्रमुख प्रतिपक्षी दलका नेता रामअशिष यादवले असन्तुष्टि जनाएका थिए । दश मिनेटको लागि सभामुखले बैठक स्थगित गरेर सुरु भएको सर्वदलीय छलफल सत्ता पक्ष र विपक्षी दलको अडानको कारण स्थगित भएको छ ।

बैठक असार २८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा सत्ताले कार्यदलमा मन्त्री रहने अडान लिएका छन् । बजेटमा भएको गडबडीमा सरकार नै संलग्न भएकाले कार्यदल छानविन समिति जस्तै हुँदा मन्त्रीलाई राख्नु अनुचित हुने अडान विपक्षी दलको छ ।

नेकपा माओवादी केन्द्रका दलका उपनेता युवराज भट्टराईले काही नभएको जात्रा सत्ता पक्षले गर्न थालेकाले बैठकमा सहमति हुन नसकेको बताए । ‘सरकार माथि छानविन हुन्छ । तर सरकारकै प्रतिनिधिलाई कार्यदलमा मन्त्रीलाई राख्नु ठीक होइन । सत्ता पक्ष र सरकारले काही नभएको जात्रा गर्न खोजेकोले निष्कर्ष निस्कन सकेन’ उनले भने ।

जसपाका प्रमुख सचेतक रामअशिष यादवले कुनै पनि हालतमा कार्यदलमा मन्त्रीलाई नस्वीकार्ने बताए ।
कार्यदलमा जसपा नेपालका प्रमुख सचेतक यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई राखिएको थियो भने सत्ता पक्षबाट नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव र भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *