Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, जनकपुरधाम — धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, उपप्रमुख रेणु देवी झाला लगायत ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मुद्दा सोमबार दायर गरिएको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी राज्यलाई रु. ५२,७२,१६८.०३ बराबरको हानि–नोक्सानी पुर्‍याएको आरोप लागेको छ।

उक्त मुद्दा हँसपुर नगरपालिका–५ स्थित सुगा निकासदेखि कट्टीसम्मको पीसीसी ढलान योजनामा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धानपश्चात दायर गरिएको हो। अनुसन्धानका क्रममा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा रु. १ करोड विनियोजन गरी उक्त ढलान योजना सञ्चालन गरेको पाइएको छ। निर्माण व्यवसायी देव कन्स्ट्रक्सन सँग रु. ९५ लाख २७ हजार ७९३.६६ मा म्यादभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कार्य सम्पन्न नगरी मूल्यांकन र भुक्तानीमा हेराफेरी गरिएको देखिएको छ।

उदाहरणस्वरूप, ढलानको लम्बाइ २१३ मिटर देखाइए पनि स्थलगत नापजाँचमा केवल ४५ मिटर मात्र ढलान भएको पुष्टि भएको छ। त्यस्तै अर्को खण्डमा २६० मिटरको सट्टा १५४ मिटर मात्र काम भएको देखिएको छ। गलत नापी किताव तयार गरी कुल रु. ७,८१,८१८.०३ बढी भुक्तानी दिइएको पाइयो।

त्यसैगरी, पेश्की भुक्तानीस्वरूप उपलब्ध गराइएको रु. १६,५०,००० को वापसीका लागि आवश्यक बैंक जमानत म्याद नथपाई सम्झौता अन्त्य गरिएको देखिएको छ। यस्तै, कार्य सम्पादन जमानतको सुरक्षा अवधि नसुनिश्चित बनाइ बैंक जमानत जफत हुन नदिई रु. २८,४०,३५० बराबरको हानि भएको आयोगको ठहर छ।

आयोगले उनीहरूविरुद्ध आपसी मिलोमतोमा सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *