सामाजिक फीड–
जनकपुरधाम, असार १३ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरमा भोलिबाट दुई दिने आँप मेला आयोजना हुने भएको छ।
स्थानीय स्तरमा उत्पादित आँपको प्रवद्र्धन, व्यवसायिक विस्तार तथा चित्रपुरलाई कृषिपर्यटन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ असार १४ र १५ गते मेला हुने आयोजक चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डले जनाएको छ । चित्रपुरका किसानहरूको मुख्य उपज आँप हो, जहाँ करिब ३ सय विघा क्षेत्रफलमा आँपको खेती छ ।
महोत्सवमा विभिन्न प्रकारका आँप, अचार, आमिल, अमोट, जुसलगायत परिकारको प्रदर्शनी तथा विक्री गरिने तयारी भएको मेला संयोजक प्रदीप महतोले जानकारी दिए ।
स्थानीय सञ्चारकर्मी फुलगेन मगहीका अनुसार मेला अवलोकनमा आउने पर्यटकका लागि निःशुल्क आँप स्वाद चखाउने, आँपका बगैंचामा घुमाउने, आँप रुखबाट छानेर टिप्ने अनुभव दिने र विद्यार्थालाई विभिन्न जातका आँप चिनाउने कार्यक्रम पनि समावेश गरिएको छ। इच्छुकले भने शुल्क तिरेर रुखमै फलिएका आँप किन्न र घर लैजान सक्नेछन् ।
मधेश प्रदेशमै सबभन्दा धेरै आँप उत्पादन हुने क्षेत्रको रूपमा परिचित चित्रपुर, पूर्व पश्चिम राजमार्गको ढल्केवर र जमुनिबासबाट मात्र ४ किलोमिटर दूरीमा रहेको छ ।