सामाजिक फीड, जनकपुरधाम – घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक(SP) ढकेन्द्र खतिवडा लाई छानबिनका लागि तानिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक(SSP) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ।
खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् वरिष्ठ सई विश्वनाथ त्रिपाठीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा तानेर कारबाही थालिएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी प्रमुख लेनदेनमा मुछिएको घटनालाई गम्भीर मान्दै छानबिन समिति गठन गरेको उक्त कार्यालयले जनाएको छ।
मधेस प्रहरी कार्यालयको स्रोतले भन्यो कि ‘छानबिन समिति बनेको छ, तीन सदस्यीय समितिले रिपोर्ट दिएपछि के कस्तो कारबाही गर्नेबारे टुंगो लाग्छ
खतिवडामाथि एच टि पी खबर च्यानलमा विभिन्न मुद्दामा लाखौं असुली गर्ने गरेको, सर्वसाधारणलाई दु:ख दिएर असुल्ने गरेको तथा त्यस कार्यमा सई त्रिपाठीलाई खटाएको आरोप लागेको थियो।
एच टि पी खबरको पत्रकार दिवाकर साहको रिपोर्टसहितको भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ। त्यस कार्यमा खतिवडाको के कस्तो मिलेमतो भन्ने यकिन भइसकेको छैन।
राजन शर्मा सामाजिक फीडका संवाददाता हून् ।