सामाजिक फीड-
जनकपुरधाम, जेठ २० गते ।
सिरहामा सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतो रहेका छन् ।
प्रहरीका अनुसार, महतोले सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै पीडित परिवारसँग ठगी गरेका थिए । सिरहा प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जानकारी दिएअनुसार, महतोले सिरहा नगरपालिका–१६, माडरकी ४८ वर्षीया रानी देवी यादवसँग उनका छोरा विवेक यादवलाई छोडाउने बहानामा एक लाख ७० हजार रुपैयाँ ठगेका थिए।
विवेक यादव सवारी ज्यान मुद्दामा संलग्न भई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा थिए ।
ठगीसम्बन्धी रानी देवीको जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।
महतोविरुद्ध सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनलाई सोमबार साँझ ६ बजे नियन्त्रणमा लिइएको हो ।
हाल थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।