Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ २ गते ।

मधेश सरकारले गम्भीर प्रकृतिका बिरामीलाई प्रदान गरिँदै आएको आर्थिक सहायता बजेट अभावका कारण प्रभावित भएको छ।

रकम अभावको कारण सहायता वितरण रोकिएको हो ।

चार हजारभन्दा बढी बिरामीको भुक्तानी अझै बाँकी रहेको छ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिष्कघात, अर्थराइटिस लगायत १३ वटा गम्भीर रोग पीडितलाई जनही एक लाख रुपैयाँ आर्थिक सहायता वितरण गर्दै आएको छ। यो योजना आर्थिक वर्ष २०८०/०८१ बाट सुरु गरिएको थियो ।

गत आर्थिक वर्षमै बजेट अभावका कारण ५१७ जना बिरामीले सहायता पाउन सकेका थिएनन्।

तीसहित हालसम्म ९ सय जनालाई मात्रै भुक्तानी गरिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक सन्तोष ठाकुरले जानकारी दिए।

‘चालु आर्थिक वर्षमा मात्र ९ करोड रुपैयाँ विनियोजन गरिएको थियो, त्यो रकम सकिसकेको छ। ४ हजारभन्दा बढी बिरामीलाई अझै सहायता दिन बाँकी छ । निवेदन परेकाहरुलाई सहायता वितरण गर्न कम्तीमा ५० करोड रुपैयाँ बजेट आवश्यक छ’ ठाकुरले भने ।

उनका अनुसार करिब दुई महिना अघि मन्त्रालयले अर्थ मन्त्रालयमा ३८ करोड रुपैयाँको बजेट माग गर्दै निवेदन पठाएको थियो। तर, हालसम्म बजेट उपलब्ध नहुँदा सहायता वितरण रोकिएको छ।

ठाकुरका अनुसार मधेश प्रदेशका आठवटै जिल्लाबाट दैनिकजसो क्यान्सर, मुटुरोगजस्ता गम्भीर बिरामी थपिँदै आएका छन्। सहायता माग गर्दै दैनिक २० देखि २५ जनासम्म निवेदन दिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *