सामाजिक फीड-
जनकपुरधाम, बैशाख १९ गते ।
सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
सरकारले वैदेशिक सहायता विकासका आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्ने बताएको छ। संरचनागत रुपान्तरण गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य (क्म्न्) हासिल गर्न र सन् २०२६ मा नेपालले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रक्रियालाई सहज बनाउन रणनीति कार्यान्वयन गरिने उल्लेख छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि भूमिसम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गरिने पनि राष्ट्रपति पौडेलले जानकारी गराए।
सरकारले श्रम क्षेत्रमा विद्यमान सीपयुक्त जनशक्तिको अभाव र सीपविहीन श्रमशक्ति जगेडामा बस्ने अवस्थाको अन्त्य गर्न उद्यमशीलतामैत्री शिक्षा प्रणाली अवलम्बन गर्ने बताएको छ। त्यसका लागि पाठ्यक्रम र अध्ययन–सिकाइको विधिमा व्यापक सुधार गरिनेछ। विद्यालय शिक्षामा देखिएका समस्याको समाधानका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने र विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गरिने उल्लेख गरिएको छ।
युवा पुस्तालाई लक्षित गर्दै सबै उद्यमका लागि व्यवसाय योजना (बिजनेस प्लान) र त्यसको अनुकूल वातावरण (इकोसिस्टम) सुनिश्चित गर्दै ‘युवा स्टार्टअप कार्यक्रम’ सञ्चालन गरिनेछ। सरकारको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत योगदानमा आधारित प्रणाली अनिवार्य बनाइनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका निकायबीच समन्वय कायम गरिनेछ। साथै, बिमा सेवामा सुशासन र वित्तीय पारदर्शिता कायम गर्न बिमा बोर्डको पुनःसंरचना गरिने उल्लेख छ।
राष्ट्रपति पौडेलले सबैसँग मित्रता, कसैसँग शत्रुता छैन भन्ने नेपालको परराष्ट्र नीति दोहो¥याउँदै सार्वभौमिक समानताको आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिने बताए। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका प्रभावकारी बनाउन पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ।
सरकारले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादउन्मुख आर्थिक तथा सामाजिक रुपान्तरणमार्फत राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय कायम गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको स्पष्ट पारेको छ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ
Read more: यस्तो छ संघीय सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)