सामाजिक फीड-
जनकपुरधाम, चैत २४ गते
चैत्र शुक्ल नवमीका अवसरमा आज भगवान् श्रीरामको जन्मोत्सव रामनवमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरू आजको दिनलाई भगवान् रामचन्द्रको अवतरण दिवसका रूपमा विशेष पूजा–आराधना, व्रत, जप, पाठ र भजनकीर्तन गरेर मनाउने परम्परा छ।
धार्मिक विश्वास अनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका जेठा सुपुत्रका रूपमा श्रीरामको जन्म चैत्र शुक्ल नवमीकै दिन पुनर्वसु नक्षत्रमा कर्कट लग्नमा भएको थियो। भगवान् विष्णुको सातौं अवतार मानिने रामचन्द्रको जन्मसमयमा पाँच महत्वपूर्ण ग्रह—सूर्य, मङ्गल, वृहस्पति, शुक्र र शनि एकैसाथ हुनु दुर्लभ योग मानिन्छ।
वासन्तिक नवरात्रको नवमी तिथिमा जन्मिएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी आदर्श रामराज्य स्थापना गरेका धार्मिक ग्रन्थहरूमा उल्लेख छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, “रामनवमी पर्वको सार रामजस्तो मर्यादित, अनुशासित र न्यायप्रिय शासकको आकांक्षा हो। यदि आजको समाजले रामको आदर्श अपनायो भने मात्र यो पर्वको वास्तविक सार प्राप्त हुन्छ।“
गाग्र्यतन्त्र कृष्णवचनमा उल्लिखित अनुसार, चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीमा श्रीरामको पूजा, जप, पाठ र ध्यान गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास छ। व्रतार्क ग्रन्थको अगस्त्य संहितामा पनि चैत्र शुक्ल नवमीमा उपवास गरी रामको पूजा गर्नाले जन्मजन्मान्तरका पापहरू नाश भई वैकुण्ठ प्राप्त हुने उल्लेख छ।
आज भारतको अयोध्यादेखि नेपालका विभिन्न स्थानहरूमा रामनवमी विशेष रुपमा मनाइँदैछ। जनकपुरधामस्थित ऐतिहासिक रामजानकी मन्दिरमा ठूलो मेला लागेको छ। नेपाल तथा भारतका श्रद्धालुहरू बिहानैदेखि मन्दिरमा दर्शन, पूजा तथा स्नानका लागि लामबद्ध भएका छन्।
पवित्र नदी, ताल र कुण्डहरूमा स्नान गरी भक्तजनहरूले रामायण—वाल्मीकीय, तुलसीदासकृत, भानुभक्तीय वा अध्यात्म रामायणको पाठ गरी रातभर भजनकीर्तन गर्ने परम्परा आज पनि कायम छ।
धार्मिक ग्रन्थहरूका अनुसार, श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरी समाजबाट अधर्म, अन्याय र राक्षसी प्रवृत्तिको अन्त्य गरेका थिए। पिताको आज्ञा पालना गर्दै १४ वर्षको वनवास स्वेच्छाले स्वीकारेर उनले सत्य, कर्तव्य र धर्मको मार्गमा जीवन जिउन सबैलाई प्रेरणा दिएका थिए। यही कारणले उनलाई ‘मर्यादा पुरुषोत्तम’ भनिएको हो।
रामनवमीको पावन अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।