Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २१ गते ।

जनकपुरधाममा आज चैते छठ पर्व धुमधामका साथ मनाइँदै छ । श्रद्धालुहरूले आज साँझ अस्ताउँदै गरेको सूर्यलाई सन्ध्या अर्घ अर्पण गर्नेछन्, भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन हुनेछ।

चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भोजन गर्ने परम्परा छ। दोस्रो दिन पञ्चमीका अवसरमा खरना पर्व मनाइन्छ, जसमा ब्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझपख खष्ठी देवीलाई प्रसाद चढाएर ग्रहण गर्छन्। खरनाको प्रसादमा खीर, केरा, दूध तथा विभिन्न फलफूल चढाइन्छ।

पर्वको तेस्रो दिन ब्रतालुहरू साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिनका लागि जलाशयमा प्रवेश गर्छन्। सूर्यास्त हुनुअघि नै पोखरी वा नदी किनारमा भेला भएर खष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने प्रचलन छ। अर्घमा मुला, उखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायत सामग्री अर्पण गरिन्छ।

कार्तिक महिनामा मनाइने छठ पर्वजस्तो ठूलो संख्यामा भक्तजन सहभागी नहुने गरे पनि पछिल्लो समय चैते छठको महत्त्व बढ्दै गएको छ। जनकपुर क्षेत्र मात्र नभई ग्रामीण भेगहरूमा पनि यो पर्व श्रद्धाका साथ मनाइन्छ।

जनकपुरका गंगासागर, अंर्गजा सागर लगायतका विभिन्न जलाशयहरूलाई विशेष रूपमा सजाइएको छ। साँझपख ब्रतालु, स्थानीय बासिन्दा तथा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ। छठ पर्वको अवलोकन गर्न छिमेकी जिल्लाबाट समेत भक्तजनहरू आउने गरेका छन्।

चैते छठ पर्व विधिपूर्वक मनाउँदा मनोकामना पूरा हुने, चर्मरोग निको हुने तथा मानसिक शान्ति प्राप्त हुने मान्यता रहेको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *