सामाजिक फीड-
जनकपुरधाम, चैत २० गते ।
मधेश प्रदेशसभामा देखिएको राजनीतिक गतिरोध हटाउने प्रयास निष्फल भएको छ । बुधबार बसेको सर्वदलीय बैठक सत्ता पक्ष र विपक्षी दलबीच सहमति नजुट्दा निष्कर्षविहीन बनेको हो।
गतिरोध हटाउन सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका थिए । तर, दुईपक्ष आ आफ्नो अडानबाट पछि नहट्दा बैठक विना निष्कर्श सकिएको हो ।
विपक्षी दलहरूले विभिन्न विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका थिए। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार सत्ता पक्षले मन्त्रीहरूको जवाफपछि मात्र छानबिन समिति गठन गर्ने अडान लिएपछि सहमति जुट्न सकेन। उनले भने, “हामी छानबिन समिति गठनको पक्षमा छौँ, तर सत्ता पक्षले पहिले मन्त्रीहरूको जवाफ आवश्यक रहेको बताएको छ ।”
सत्तापक्षको तर्फबाट मुख्यमन्त्री सिंह स्वयं बैठकमा उपस्थित भए पनि कुनै सहमति जुट्न सकेन।
चैत १२ गतेको सर्वदलीय बैठकमा समेत कुनै निष्कर्ष निस्कन नसकेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो। बुधबारको छलफलमा पनि विपक्षी दलहरूले मुख्यमन्त्री सतिशकुमार सिंहको भारत भ्रमण, योजना खरिद–बिक्री प्रक्रिया, सशर्त अनुदान जस्ता विषयमा संसदीय छानबिन समिति गठनको माग दोहोर्याएका थिए।