सामाजिक फीड-
जनकपुरधाम, चैत १४ गते ।
जनकपुरको अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी २५ वर्षीया बबिता कुमारी यादव अझै होस फर्किएको छैन । माघ ३० गतेदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा बबिताको उपचार जारी छ । चिकित्सकहरूले उनको अवस्था सुधारोन्मुख रहेको बताएका छन्, तर होस भने फर्किएको छैन ।
बबिताका श्रीमान् अंगेशकुमार यादवले आर्थिक अभावकै कारण प्रभावकारी उपचारमा हुन नसकेको गुनासो गरे । ‘एक साता अघि अक्सिजन पाइप हटाउँदा २४ घण्टासम्म आफैँ सास फेर्न सकिन्, तर औषधि रोकिँदा पुनः अघिकै अवस्थामा फर्किन्,’ अंगेशले दुखेसो पोखे ।
अस्पतालले उपचार जारी राखेपनि फार्मेसीले औषधि उधारो दिन अस्वीकार गर्दा समस्या उत्पन्न भएको हो । हालसम्म अस्पतालको फार्मेसीमा करिब एक लाख रुपैयाँ उधारो तिर्न बाँकी छ । केएमसी अस्पतालमा भर्ना भएदेखि औषधिमा मात्र ५ लाखभन्दा बढी खर्च भइसकेको छ, भने उपचारको सम्पूर्ण खर्च अझै बाँकी रहेको अंगेश बताउँछन् ।
चिकित्सकहरूका अनुसार बबिताको होस फर्कन छ महिनासम्म निरन्तर प्रभावकारी उपचार आवश्यक छ । अंगेशका अनुसार, हालसम्म ऋण र सापटी गरेर १५ लाखभन्दा बढी खर्च भइसकेको छ ।
अंगेश एक्लै अस्पतालमा कुरुवा बसेका छन् । उनलाई खानपानको समेत समस्या छ । औषधि उधारो दिन बन्द भएपछि उनले तत्काल आफन्तबाट २० हजार रुपैयाँ जुटाएर फार्मेसीलाई बुझाएका छन् । आफन्तलाई कुरुवा राखेर मंगलबार उनी ऋण खोज्न गाउँ फर्केका छन् ।
‘गाउँघरमा ऋण पाउन कठिन छ । अब खाता खोलाएर आर्थिक सहयोग मागेर भए पनि श्रीमतीलाई उपचार गराउने कोसिस गर्छु । राम्रो उपचार भए बबिता बाँच्न सक्छिन्, नत्र मेरा दुई सन्तान टुहुरा हुनेछन्,’ अंगेशले भने ।
घरमा उनका वृद्ध आमाबुबा र दुई सन्तान छन्। अस्पतालमा बस्दा खानपिनको समस्या झन् गम्भीर बनेको उनले बताए । ‘पैसा नहुँदा म कहिलेकाहीँ भोकै बस्नुपर्छ, कहिले अरुले खुवाइदिन्छन्,’ अंगेशले पीडा व्यक्त गरे । भारतको हैदरावादस्थित बोरा सिउने कम्पनीमा मजदुरी गरिरहेका अंगेश श्रीमती बिरामी परेको खबर पाएपछि नेपाल फर्किएका थिए र अस्पतालमै कुरुवा बसेका छन् ।
बबिताको उपचारमा लापरबाही भएको समाचार बाहिरिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको पीडारीचोकस्थित मुस्कान अस्पतालमा छड्के निरीक्षण गरेका थिए । अवैध रूपमा सञ्चालन भइरहेको पाइएकोले उनले अस्पताल बन्द गराउँदै बबिताको उचित उपचार गर्न तथा सम्पूर्ण खर्च बेहोर्न निर्देशन दिएका थिए । तर, अस्पतालका सञ्चालकहरूले अहिलेसम्म कुनै चासो देखाएका छैनन् ।
केहीदिन अघि जिल्ला प्रहरी कार्यालय धनुषामा दुबै पक्षबीच छलफल समेत भएको थियो । धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार छलफलबाट उपचारको लागि तत्काल पाँच लाख रुपैयाँ दिने, उपचार गर्ने, बीचबीचमा समन्वय गर्ने र बाँकी अन्तिममा गर्ने सहमति भएको थियो । ‘सहमति कार्यान्वयनका लागि मैले डिएसपीसाबलाई भनेको थिए । कार्यन्वयन भएन भने कानुन कारबाही प्रक्रिया छँदैछ । आजै दुबै पक्षलाई बोलाएर कुरा गर्छु’ एसपी तिवारीले भने ।
सहमतिको केहीदिनपछि अंगेशले संचालकलाई सम्पर्क गर्दा त्यस यता सो नम्बरमा फोन लागेको छैन । अस्पताल संचालक फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् ।
३ माघमा सर्जन डा. ज्ञानकुमार साह नेतृत्वको टोलीले बबिताको शल्यक्रिया गरेको थियो । त्यस यता बबिताको होस आएको छैन ।