Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ११ गते ।

जनकपुरका केही प्रतिष्ठित होटलमा बासी तथा म्याद गुज्रेका खाद्य सामग्री प्रयोग गरिएको पाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अशुद्ध सामग्री फेला परेको हो।

आइतबार राति मुख्यमन्त्री सिंहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टोलीले जनकपुरका एक दर्जनभन्दा बढी होटलहरूको अनुगमन गरेको थियो।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहका अनुसार, होटलहरूमा भान्साको अवस्था मापदण्डअनुसार सफा र व्यवस्थित नरहेको पाइएको छ । अनुगमनका क्रममा हंसराज स्वीटबाट उत्पादकको नाम, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएका ११ प्याकेट फ्रोजन मःम जफत गरी नष्ट गरिएको छ। त्यस्तै, न्यू जानकी भ्यू होटलबाट एक बाल्टिन बासी तरकारी, किरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी फेला परेको छ । लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा लागेको १० किलो मैदा जफत गरी नष्ट गरिएको छ। यी सबै होटलहरू जनकपुरको प्रसिद्ध शाकाहारी भोजनालयहरूमध्ये पर्दछन् ।

मुख्यमन्त्री सिंहले जनकपुरका होटलहरूमा सफा, स्वच्छ र स्वास्थ्यवद्र्धक खाना उपलब्ध नभएको गुनासोपछि अनुगमन अभियान सञ्चालन गरिएको बताए। उपभोक्ताको अधिकार सुनिश्चित गर्दै सुरक्षित खाद्य सामग्री उत्पादन, वितरण र उपभोग गराउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने उनले स्पष्ट पारे।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *