टुडेपाटी-
जनकपुरधाम, चैत ७ गते ।
विष्णु महायज्ञको नाममा सिरहाको औरही गाउँपालिका–५ मा एक डोम परिवारको घर भत्काइएको छ । पीडित परिवारका अनुसार जातीय भेदभावकै कारण आगामी चैत १७ गतेबाट सुरु हुने श्री श्री १०८ विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर डोजर लगाएर भत्काइएको हो ।
औरही गाउँपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा फागुन १० गते जेसिभी लगाएर घर भत्काएको पीडित अनिता मरिकले दुखेसो पोखिन् । उनका अनुसार नेतृत्वकर्ता महात्यागी बजरंगी बाबाले डोम परिवारको उपस्थिति महायज्ञ स्थलमा हुन नहुने भन्दै आदेश दिएपछि पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष दिलीप यादवको मिलेमतोमा घर भत्काएका हुन् । त्यति मात्र होइन, अछुत बसेको भन्दै त्यहाँको दुई फिट माटोसमेत खनेर फाली गंगाजल छर्किएको पीडित परिवारको भनाइ छ ।
दुई दशकदेखि सार्वजनिक जग्गामा बसोबास गर्दै आएको उक्त डोम परिवारलाई पाँच वर्षअघि मधेश प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत दुई कोठे पक्की घर बनाइदिएको थियो । यज्ञको नाममा उक्त घर भत्काएर अहिले उनीहरूलाई श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको दुई धुर जग्गामा फुसको घरमा सारिएको छ । त्यहाँ विजुली, खानेपानीको व्यवस्था छैन । वर्षाको बेला त्यहाँ बाढीको भेल बग्ने गरेको अनिताले सुनाइन् ।
दीपक र अनिताको परिवारमा सात जना छन् —१७ वर्षीय छोरा अर्जुन, नवविवाहित बुहारी, १३ वर्षीया छोरी किरण, १० वर्षीया छोरी प्रीति, र ७ वर्षीय छोरा आकाश मरिक ।
डोम परिवारका छोरा अर्जुन मरिक अत्यन्त आक्रोशित छन्। ‘के हामी मानिस होइनौँ ? हाम्रो घर त्यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो पथ्र्यो ? अरू जातिका घर भत्काइएन, तर डोम भएकै कारण हाम्रो घरमाथि डोजर चलाइयो। हामीलाई अछुत ठानेर त्यहाँको माटोसमेत खनेर फालियो,’ अर्जुनले भने।
यता पालिका अध्यक्ष शिवजी यादवले सर्वहितकै लागि यज्ञ आयोजना गरिएको बताउँदै विद्यालयलाई क्याम्पस बनाउने मुख्य उद्देश्य रहेको बताए । तर दीपकको घर भने सहमतिमै भत्काइएको उनको दाबी छ । ‘दीपक मरिकको सहमतिमै उनको घर भत्काएर अन्यत्र सारिएको छ । बाबाले भनेकै आधारमा हटाइएको होइन,’ उनले स्पष्ट पारे । उनले त्यहाँ बजारको सेड पर्खाल बनाउने टेन्डर लागेको समेत दावी गर्दै सबैको सहमतिमा यो काम भएको बताए ।