सामाजिक फिड
जनकपुरधाम
नेपाल कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नै नभएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले देशी-विदेशी साधु-सन्तहरूको भनाइको आधारमा राजतन्त्र फर्किन्छ भन्ने सोच्नु गलत हुने बताएका छन्।
निधिले संविधान निर्माणका क्रममा नेपालले विभिन्न चुनौतीहरू सामना गरिसकेको उल्लेख गर्दै अब फेरि राजतन्त्र फर्कने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, “देशी-विदेशी साधु-सन्तहरूले केही भनेको आधारमा नेपालमा परिवर्तन हुन्छ भन्ने सोच्नु आवश्यक छैन। संविधान जारी गर्दा हामीले नाकाबन्दी जस्तो कठिन परिस्थिति पनि सामना गर्यौं। तर, हामीले प्रमाणित गरिसकेका छौं कि नेपाल र नेपालीहरू नै हाम्रो पहिलो प्राथमिकता हुन्।”
उनले कुनै पनि हालतमा राजतन्त्र फर्कन नसक्ने दाबी गर्दै थपे, “जनताले राजतन्त्र चाहेका छैनन्, त्यसैले यो फर्किने सम्भावना छैन। यसको विरुद्धमा आवश्यक कदम चाल्न हामी तयार छौं, हेक्का रहोस्।”
निधिले नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह नै रहेको उल्लेख गर्दै इतिहास अध्ययन गर्न आग्रह गरे। उनले भने, “राजतन्त्र अन्त्य भएपछि अन्य देशका राजाहरूको अवस्था कस्तो रह्यो भन्ने कुरा इतिहासले देखाइसकेको छ। नेपाली जनताले शान्तिपूर्ण रूपमा परिवर्तन स्वीकार गरिसकेका छन्, त्यसैले पुनः राजतन्त्रको सम्भावनाबारे चर्चा गर्नु आवश्यक छैन।”
हाल नेपालमा राजावादी गतिविधिहरू तीव्र रूपमा बढिरहेका छन्। विभिन्न स्थानहरूमा राजसंस्थाको समर्थनमा प्रदर्शनहरू भइरहेको छ, जसले राजनीतिक दलहरूलाई सतर्क बनाएको छ। निधिले संविधानले नेपाललाई धर्मनिरपेक्ष र गणतान्त्रिक राष्ट्रका रूपमा परिभाषित गरिसकेकोले राजतन्त्र फर्काउने प्रयास गर्नु व्यर्थ हुने बताए।
उनले २०६२/६३ को जनआन्दोलनको निर्णयलाई सबैले स्वीकार गरिसकेको उल्लेख गर्दै पुनः राजतन्त्रको विषय उठाउनु गलत भएको बताए।