सामाजिक फीड–
जनकपुरधाम, चैत ५ गते ।
धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव इनारमा फेला परेको छ। मिथिला नगरपालिका–८, जमुनिवासका ३३ वर्षीय नारायण घिसिङ्को शव स्थानीय इनारभित्र भेटिएको हो।
प्रहरीलाई सोमबार साँझ इनारबाट दुर्गन्ध आउन थालेको सूचना प्राप्त भएपछि खोजी गरिएको थियो। टर्चबालेर हेर्दा इनारभित्र खुट्टा देखिएपछि प्रहरीले शव रहेको पुष्टि गर्यो।
सशस्त्र प्रहरीको सहयोगमा मङ्गलबार बिहान शव निकालिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ।
नारायण गत चार दिनदेखि बेपत्ता रहेको उनका आफन्तले बताएका छन्। खोजतलास गर्दा पनि नभेटिएपछि सोमबार साँझ इनारबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।