सामाजिक फीड-
जनकपुरधाम, चैत ४ गते ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए, मधेश प्रदेश सरकार परीक्षा प्रक्रियाबाट अलग हुने चेतावनी दिएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा आइतबार जारी विज्ञप्तिमा मुख्यमन्त्री सिंहले परीक्षा व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्नुपर्ने निर्देशन दिएको उल्लेख गरिएको छ।
प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले यस विषयमा निर्णय गरी कार्यान्वयनका लागि जिल्ला परीक्षा समन्वय समितिलाई पठाएको भए पनि केही जिल्लामा पुरानै प्रणालीअनुसार सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
राष्ट्रिय परीक्षा बोर्डको नियमावलीअनुसार केन्द्राध्यक्ष नियुक्त गर्ने अधिकार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई भए पनि बोर्डले जारी गरेको निर्देशिकाले परीक्षा केन्द्रकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रावधान राखेको भन्दै यसको विरोध गरिएको छ।
विज्ञप्तिमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको यथास्थितिवादी सोच, स्वार्थप्रेरित शैली र दुराग्रही व्यवहारका कारण परीक्षा प्रणालीमा अनियमितता दोहोरिने खतरा रहेको उल्लेख गरिएको छ। केन्द्राध्यक्षको नियुक्ति विद्यालयकै प्रधानाध्यापक हुँदा अनियमितताको सम्भावना बढ्ने भन्दै त्यसलाई रोक्न प्रदेश सरकार दृढ रहेको बताइएको छ।
मुख्यमन्त्री सिंहले परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न पुनः सबै पक्षलाई गोलाप्रथाबाटै केन्द्राध्यक्ष नियुक्त गर्न आग्रह गरेका छन्। यसबारे प्रदेश सरकारका अधिकारीहरूले राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाइएको छ।
गत फागुन २६ गते जनकपुरधाममा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा प्राप्त सल्लाहसुझावका आधारमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले जेष्ठ शिक्षकको उपस्थितिमा गोला तानेर केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरेको उल्लेख छ।