सामाजिक फीड-
जनकपुरधाम, फागुन २८ गते ।
सर्लाहीबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट पक्राउ परेका उनीहरू नक्कली नोट बनाउन र फैलाउन संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी र सोही ठाउँकी ३५ वर्षीया सिहानता कुमारी देवी छन्।
नेपाल भित्रिन लागेको सूचनाका आधारमा प्रहरीले भारतबाट आएका बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलहरू जाँच गर्दा उनीहरूको साथबाट नक्कली नोट फेला परेको थियो।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली नक्कली एक हजार दरका नोटको ८८ वटा बण्डल फेला परेको छ। ती बण्डलहरूमा तलमाथि एक÷एक थान सक्कली नोट राखेर बीचमा सेतो कागज प्रयोग गरी नक्कली नोट बनाईएको थियो। प्रहरीले कुल १ लाख ७६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनामाथि मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राईले जानकारी दिए।