Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २५ गते ।

जनकपुरधाममै घर भएका मधेस प्रदेशसभाका सदस्यहरूले पनि घरभाडा बापत मासिक रूपमा रकम लिने गरेका छन् । नेपाली कांग्रेसका धनुषा–३ (१) का सांसद रामसरोज यादवको घर प्रदेशसभा भवनबाट डेढ किलोमिटरभन्दा कम दूरीमा रहेर पनि उनले मासिक १५ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् ।
उनी जस्तै नेकपा एमालेका संसदीय दलका उपनेता तथा धनुषा–३ (२) बाट निर्वाचित दीपेन्द्र ठाकुर, जसपा नेपालकी महोत्तरी–२ (२) बाट निर्वाचित सांसद सुरिता साह, तथा जसपा नेपालकै प्रमुख सचेतक रामअशिष यादव (धनुषा–२ (२)) समेत जनकपुरधाममै घर भए तापनि मासिक १५ देखि २० हजार रुपैयाँसम्म घरभाडा लिने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसैगरी, नेपाली कांग्रेसकी समानुपातिक सांसद अंजना पण्डित, नेकपा एकीकृत समाजवादीका सांसद तथा प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइत यादव, तथा कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झा पनि जनकपुरधाममै घर भए पनि प्रदेशसभाबाट मासिक १५–१८ हजार रुपैयाँसम्म घरभाडा बुझ्ने गरेका छन्।

प्रदेशसभाका अधिकांश सांसदहरू घरबाटै ओहोरदोहोर गर्छन् तर तैपनि घरभाडा सुविधा लिइरहेका छन् । मधेस प्रदेशसभा सचिवालयका अनुसार, सभामुखलाई आवास उपलब्ध गराइने व्यवस्था छ भने अन्य पदाधिकारी तथा सांसदहरूलाई ऐनअनुसार मासिक १५–२० हजार रुपैयाँसम्म घरभाडा उपलब्ध गराइन्छ।

प्रदेशसभा सचिवालयले ९२ जना सांसदलाई मासिक १४ लाख ३९ हजार रुपैयाँ घरभाडाबापत वितरण गर्दै आएको छ । यसका अतिरिक्त निजी सचिवालयका लागि मासिक १ लाख ८७ हजार ८ सय, बिजुली तथा धाराका लागि १ लाख ८५ हजार, र सञ्चार सुविधाका लागि २ लाख ८२ हजार ४ सय रुपैयाँ सांसदहरूलाई प्रदान गरिन्छ।
जनकपुरधाममै स्थायी बसोबास हुँदाहुँदै प्रदेश सांसदहरुले घरभाडा सुविधा लिइरहनु अनैतिक मात्र नभई गैरकानुनी रहेको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् ।

‘जनकपुरधाममा घरहुँदाहुँदै घरभाडा लिनु अनैतिक त छँदैछ । गैरकानुनी पनि हो । वर्तमान सत्ता राजनीतिको चरित्र नै कमाउनेतर्फ उन्मुख भएकाले जनताको हितभन्दा स्वार्थपूर्तिमै ध्यान केन्द्रित छ’उनले भने ।

नीति निर्माण गर्ने प्रदेश सांसदहरुले आफ्नो निजी स्वार्थका लागि आफ्नो घर जहाँ भएपनि घरभाडा लिने कानुन नै बनाएका छन् । प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले भने, ‘कुनै पनि सांसदले घरभाडा बापतको रकम लिन सक्ने प्रावधान ऐनमै व्यवस्था गरिएको छ।’

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *