सामाजिक फीड-
जाकपुरधाम, फागुन २२ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तराई–मधेश जागरण अभियान अन्तर्गत महोत्तरी पुगेका छन्। अभियानकै क्रममा उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पुर्ख्यौली घरमा समेत पुगेका छन्।
महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेनको पुर्ख्यौली घरमा आयोजित स्वागत कार्यक्रममा प्रचण्ड सहभागी भए। कार्यक्रममा बोल्दै उनले उक्त स्थानमा आउँदा रमाइलो महसुस भएको बताए।
‘बालेन साहको पुर्ख्यौली घर, उहाँका बा र काकाहरुको घरमा हामी आइपुगेका छौं। यो आफैंमा रमाइलो महसुस भएको छ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला, हामी सबै मिलेर यो देश बनाउनु छ।’
उनले समावेशी र समानुपातिक व्यवस्थाका उपलब्धिहरू माओवादी आन्दोलनकै कारण स्थापित भएको दाबी गरे। ‘हजारौंको बलिदानबाट पहिचान र अधिकारको मुद्दा स्थापित नभएको भए, समावेशी र समानुपातिक प्रणाली लागू नभएको भए, देश अहिलेको अवस्थामा हुने थिएन,’ उनले भने। तर, उनले केही समूहहरू ती उपलब्धिहरू उल्ट्याउने प्रयासमा रहेको भन्दै सचेत रहन आह्वान गरे।