सामाजिक फीड-
जनकपुरधाम, फागुन २१ गते ।
मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको छ । मंगलबार जनकपुरधाममा बसेको विश्वविद्यालय सभाले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्यीय समितिले ७ असोजमा बुझाएको प्रतिवेदनको आधारमा उनीहरू विश्वविद्यालयका अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएको थियो । सोही आधारमा विश्वविद्यालय सभाले बर्खास्तको निर्णय लिएको एक सदस्यले जानकारी दिए ।
दिउँसो १२ बजेदेखि जनकपुरको एक होटेलमा सुरु भएको विश्वविद्यालय सभा राति ११ बजेसम्म चलेको थियो। सभामा विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सह–कुलपति शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायत विश्वविद्यालय सभाका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए । सभाले चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।
यसअघि, १६ पुसमा सम्पन्न विश्वविद्यालय सभाबाट पनि उपकुलपति महतो र रजिस्ट्रार ठाकुरलाई बाहिर निकालिएको थियो। जसपा नेपाल र जनमत पार्टीबीचको राजनीतिक विवादका कारण मधेश कृषि विश्वविद्यालय प्रभावित हुँदै आएको छ। ८ माघ २०८० मा विश्वविद्यालय भवन शिलान्यासको विषयलाई लिएर यी दुई दलबीच विवाद भएको थियो।
लामो समयदेखि विश्वविद्यालय सभा नबस्दा आर्थिक कारोबार ठप्प रहेको छ। यसका कारण विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले तलब–भत्ता पाएका छैनन्। सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी र सञ्चार सेवामा अवरोध उत्पन्न भएको छ।
विश्वविद्यालयका दुई सेमेस्टरका करिब १०० विद्यार्थीहरू नियमित कक्षा लिनबाट बञ्चित छन्, जसले गर्दा उनीहरूको भविष्य अन्योलमा परेको छ। रजिस्ट्रार ठाकुरका अनुसार नयाँ शैक्षिक सत्रका लागि कार्तिकमै सञ्चालन हुनुपर्ने कक्षाहरू अझै सुरु भएका छैनन्। विश्वविद्यालय सञ्चालनका लागि लिइएको घरको भाडा नतिरेको भन्दै घरबेटीहरूले खाली गराउने चेतावनी दिएका छन्। यस्तै, करिब १ अर्ब ७० लाख लागतमा निर्माणाधीन विश्वविद्यालय भवन पनि अलपत्र परेको छ।